विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ। विश्वको प्रमुख इन्धन ढुवानी मार्ग मानिने स्ट्रेट अफ होर्मुज लगभग अवरुद्ध भएपछि ऊर्जा आपूर्तिमा अनिश्चितता बढ्दै गएको छ, जसले तेल बजारलाई थप दबाबमा पारेको छ।

विश्व तेल बजारको प्रमुख सूचक ब्रेन्ट क्रुडको मूल्य आइतबार करिब ३ प्रतिशतले बढेर प्रति ब्यारेल १०६ अमेरिकी डलरसम्म पुगेको थियो। सोमबार बिहान भने यो केही घट्दै १०४ डलर ६३ सेन्टमा कारोबार भइरहेको थियो, जुन अघिल्लो दिनको बन्द मूल्यको तुलनामा करिब १.५ प्रतिशत बढी हो।

समाचार तयार पार्दासम्म नेपाली समयअनुसार सोमबार बिहान ११:४२ बजे ब्रेन्ट क्रुड प्रतिब्यारेल १०४ डलर ४७ सेन्टमा किनबेच भइरहेको थियो। यो लन्डनस्थित आईसीई एक्सचेन्जमा अघिल्लो कारोबार बन्द हुँदाको तुलनामा १.२९ प्रतिशतले उच्च हो। सोही समयमा अमेरिकी बेञ्चमार्क यूएस क्रुडको मूल्य पनि प्रतिब्यारेल ९७ डलर १४ सेन्ट पुगेको थियो, जुन अघिल्लो बन्द मूल्यभन्दा ०.३१ प्रतिशत बढी हो।

विश्लेषकहरूका अनुसार तेलको मूल्य वृद्धि हुनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउन अन्य देशहरूलाई सहयोग गर्न आग्रह गर्नु प्रमुख कारण मानिएको छ। विश्वको करिब २० प्रतिशत कच्चा तेल आपूर्ति यही समुद्री मार्गबाट हुने भएकाले यसको अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो असर पारिरहेको छ।

तर ट्रम्पको प्रस्तावलाई अहिलेसम्म स्पष्ट अन्तर्राष्ट्रिय समर्थन प्राप्त भएको छैन। उनले उल्लेख गरेका देशहरू—चीन, जापान, फ्रान्स र बेलायत—मध्ये कसैले पनि होर्मुज क्षेत्रमा सुरक्षाका लागि आफ्ना नौसैनिक जहाज पठाउने प्रतिबद्धता सार्वजनिक रूपमा जनाएका छैनन्।

यसैबीच इरानले अमेरिका र इजरायलका आक्रमणको प्रतिशोधस्वरूप स्ट्रेट अफ होर्मुज हुँदै हुने जहाज आवागमन लगभग रोकिदिएको बताइएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार यसले विश्व ऊर्जा आपूर्तिमा हालसम्मकै गम्भीर अवरोध सिर्जना गरेको छ।

युद्ध सुरु भएयता कच्चा तेलको मूल्य विश्व बजारमा ४० प्रतिशतभन्दा बढीले बढिसकेको छ। बेलायतको समुद्री व्यापार सञ्चालन संस्था यूकेएमटीओका अनुसार अहिले स्ट्रेट अफ होर्मुज हुँदै दैनिक पाँचभन्दा कम जहाज मात्र पार भइरहेका छन्, जबकि सामान्य अवस्थामा दैनिक औसत १३८ जहाज आवतजावत गर्ने गर्दथे। फेब्रुअरी २८ मा युद्ध सुरु भएयता कम्तीमा १६ वटा व्यावसायिक जहाजमाथि आक्रमण भएको रिपोर्ट गरिएको छ।

यसअघि ट्रम्पले आवश्यक परे अमेरिकी नौसेनालाई व्यापारिक जहाजको सुरक्षा सुनिश्चित गर्न होर्मुज क्षेत्रमा पठाउन सकिने बताएका थिए। इरान, ओमान र संयुक्त अरब इमिरेट्सबीच अवस्थित यो समुद्री मार्ग विश्व ऊर्जा आपूर्ति प्रणालीको अत्यन्त महत्वपूर्ण बिन्दु मानिन्छ।