काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनलाई आधार बनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँसम्म बढाएको जनाएको छ।

निगमले बुधबार साँझ जारी गरेको सूचनाअनुसार नयाँ मूल्य तत्काल लागू गरिएको छ। मूल्यवृद्धिपछि पेट्रोलको दर पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ पुगेको छ, जुन यसअघि १६९ रुपैयाँ ५० पैसा थियो। दोस्रो वर्गका उपभोक्ताले अब प्रतिलिटर १८६ रुपैयाँ तिर्नुपर्नेछ भने तेस्रो वर्गका लागि १८७ रुपैयाँ कायम गरिएको छ।

यसैगरी डिजेल र मट्टितेलको मूल्य पनि समान रूपमा वृद्धि गरिएको छ। पहिलो वर्गमा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा पुगेको छ, जबकि दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ निर्धारण गरिएको छ।

निगमले विभिन्न भौगोलिक क्षेत्रअनुसार तीनवटा वर्गमा मूल्य निर्धारण गर्दै आएको छ। पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ समावेश छन् भने काठमाडौं, पोखरा र दिपायल तेस्रो वर्गमा राखिएका छन्।

इन्धनको मूल्यवृद्धिले बजारमा महँगी थप बढ्ने र सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ।