साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा पछिल्ला दिनमा विकसित भइरहेका घटनाक्रमलाई ध्यानमा राख्दै त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। दूतावासले आधिकारिक निकायबाट जारी हुने सूचना, निर्देशन र समाचारलाई मात्र आधार मानेर व्यवहार गर्न अनुरोध गरेको हो।
दूतावासले बिहीबार जारी गरेको सूचनामा सामाजिक सञ्जालमा अपुष्ट वा आधिकारिक रूपमा पुष्टि नभएका सूचना, फोटो तथा भिडियोहरू पोस्ट वा सेयर नगर्न आग्रह गरिएको छ। साथै सुरक्षा संवेदनशील मानिने स्थान तथा संरचनाको फोटो खिच्न वा भिडियो बनाउन नहुने चेतावनी पनि दिइएको छ।
दूतावासले साउदी अरेबियाका सरकारी निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट प्रकाशित समाचारलाई मात्र विश्वास गर्न र अफवाह तथा अपुष्ट जानकारीको पछि नलाग्न नेपाली समुदायलाई सचेत गराएको छ। कुनै समस्या वा जिज्ञासा परेमा तत्काल दूतावास वा जेद्दास्थित नेपाली महावाणिज्य दूतावाससँग सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
सम्पर्कका लागि साउदी अरेबियास्थित नेपाली दूतावासका टेलिफोन नम्बर ०११–४६१११०८ र ०११–२८८३७९५ उपलब्ध रहेका छन्। मोबाइल तथा ह्वाट्सएपका लागि +९६६५०००२५९७३ र +९६६५३४३४३२१३ नम्बरमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ।
त्यसैगरी जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका टेलिफोन नम्बर ०१२–६२२६६६५ र ०१२–६२२६६८३ रहेका छन्। मोबाइल तथा ह्वाट्सएप नम्बरहरू +९६६५३५०२४१६९, +९६६५५९७४४२५३, +९६६५३१२५४०९९ र +९६६५३१३२८९५७ मार्फत पनि सम्पर्क गर्न सकिने बताइएको छ।