काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित सांसद सोबिता गौतमले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएकी छन्। चितवन–३ निर्वाचन क्षेत्रबाट विजयी भएकी गौतमले चुनावी अभियानमा कुल ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च भएको विवरण आयोगमा पेश गरेकी हुन्।
निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार उनले सबैभन्दा बढी खर्च सवारी साधनमा गरेको देखिन्छ। दुई वटा सवारीसाधन, चालक तथा इन्धन खर्चसहित १५ दिनको अवधिमा मात्रै ३ लाख २५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। चुनावी प्रचारप्रसारका क्रममा विभिन्न स्थानमा पुग्नुपर्ने भएकाले यातायातमा बढी रकम खर्च भएको बताइएको छ।
त्यसैगरी प्रचारप्रसार सामग्री निर्माण तथा वितरणमा ३ लाख १७ हजार ४०० रुपैयाँ खर्च भएको छ। चुनावी अभियानका क्रममा कार्यकर्ता तथा समर्थकका लागि खाद्यान्न, रासन तथा पिउने पानी व्यवस्थापनमा १ लाख १८ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ।
यसका अतिरिक्त वडा स्तरमा गरिएको प्रचारप्रसारमा १ लाख रुपैयाँ खर्च भएको छ। नमूना मतपत्र तथा घोषणापत्र छपाइमा ७४ हजार २००, मतदाता प्रशिक्षण कार्यक्रममा ३० हजार, सचिवालयको स्टेशनरीमा २३ हजार ४४५ र उम्मेदवारी मनोनयन दर्तामा ५ हजार रुपैयाँ खर्च भएको विवरणमा समेटिएको छ।
चितवन–३ बाट गौतमले ५९ हजार २७७ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेकी थिइन्। सोही निर्वाचन क्षेत्रमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहालले २० हजार ६१५ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेकी थिइन्।