काठमाडौं, १४ चैत — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको गुण्डुस्थित निजी निवासबाट अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार एसएसपी सन्तोष खड्काको नेतृत्वमा पुगेको टोलीले बिहानै ओलीलाई पक्राउ गरेको हो। यसअघि रातिदेखि नै प्रहरी टोली उनको निवास वरिपरि परिचालन गरिएको थियो। प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि सोही घटनासम्बन्धी अनुसन्धानका लागि भक्तपुरबाट नियन्त्रणमा लिइसकेको छ।

भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको घटनामा संलग्नताको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तीन दिनअघि सार्वजनिक भएको जाँचबुझ आयोगको प्रतिवेदनमा ओलीसहित पूर्वगृहमन्त्री लेखक र पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अनुसार ‘हेलचेक्र्याईं गरी ज्यान मार्ने’ कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको थियो।

नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। गृह मन्त्रालयको निर्देशनपछि प्रहरी सक्रिय भएको हो भने कानुनी प्रक्रिया पूरा गर्न आवश्यक कागजी काम समेत तीव्र रूपमा सम्पन्न गरिएको स्रोतले जनाएको छ।

प्रहरीका अनुसार केही पीडित परिवारले दिएको जाहेरीका आधारमा ओलीलाई नियन्त्रणमा लिइएको हो। उनलाई २४ घण्टाभित्र जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ। नेपालको इतिहासमा पूर्वकार्यकारी प्रमुख ज्यानसम्बन्धी आपराधिक मुद्दामा पक्राउ परेको यो पहिलो घटना मानिएको छ।