कुमारी बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ्ग सेवामा महत्वपूर्ण विस्तार गर्दै मास्टरकार्ड सेवा औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ। यस कदमले बैंकका ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको भुक्तानी प्रणालीमा सहज पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ।
काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत बैंकले बिहीबारदेखि आफ्ना ग्राहकहरूका लागि डेबिट मास्टरकार्ड जारी गर्न थालेको जानकारी दिएको हो। बैंकका अनुसार यस सेवाले ग्राहकहरूको दैनिक वित्तीय कारोबारलाई थप सरल, सुरक्षित र प्रभावकारी बनाउनेछ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले कुमारी बैंकले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै ग्राहककेन्द्रित सेवा विस्तार गरिरहेको बताए। उनले मास्टरकार्ड जस्तो विश्वव्यापी भुक्तानी प्रणालीको समावेशले बैंकको सेवा क्षमता अझ मजबुत हुने विश्वास व्यक्त गरे।
त्यसैगरी, प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत अनिश ताम्रकारले मास्टरकार्डको प्रयोग र यसको फाइदाबारे विस्तृत जानकारी दिँदै यस डेबिट कार्डले भौतिक तथा अनलाइन दुवै माध्यमबाट सुरक्षित भुक्तानी गर्न सहयोग गर्ने बताए। उनका अनुसार यो कार्ड नेपाल, भारत र भुटानमा रहेका मास्टरकार्ड स्वीकार गर्ने एटीएम तथा पीओएस मेसिनहरूमा प्रयोग गर्न सकिनेछ।
बैंकले निकट भविष्यमा क्रेडिट कार्ड सेवा पनि सुरु गर्ने तयारी गरेको जनाएको छ। २४ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर फैलिएको आफ्नो शाखा, एटीएम र डिजिटल नेटवर्कमार्फत ग्राहकलाई आधुनिक, सुरक्षित र सहज सेवा प्रदान गर्दै आएको छ।