अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनसम्बन्धी निर्णय एकतर्फी रूपमा गरेको भन्दै शीर्ष डिभिजनका क्लबहरूले विरोध जनाएका छन्। सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै क्लबहरूले एन्फाले सरोकारवालासँग पर्याप्त छलफल नगरी मनोमानी ढंगले लिगसम्बन्धी निर्णय गरेको आरोप लगाएका हुन्।
क्लब प्रतिनिधिहरूले नेपाली फुटबलको विकासका लागि एन्फाले पारदर्शी र सहकार्यपूर्ण कार्यशैली अपनाउनुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार एन्फाको वर्तमान कार्यशैलीका कारण नेपाली फुटबलको समग्र अवस्था कमजोर बन्दै गएको छ र क्लबहरूको सुझाव तथा सहमति बेवास्ता भइरहेको छ।
क्लबहरूको पहिलो माग भनेको एन्फा र ‘ए’ डिभिजन क्लबहरूबीच २०८२ साल कात्तिक १७ गते भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्नु हो। उक्त सहमतिअनुसार लिग सञ्चालनका महत्वपूर्ण प्राविधिक तथा व्यवस्थापकीय विषयमा क्लबहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ।
क्लबहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा लिग चलिरहेको अवस्थामा खेलाडी स्थानान्तरणका लागि ट्रान्सफर विन्डो नखोली खेलाडी अनुबन्धन कसरी सम्भव हुन्छ भन्ने प्रश्न उठाइएको छ। साथै विदेशी खेलाडीका लागि ‘वर्क परमिट’ लिनुपर्ने प्रक्रियागत जटिलता कम गर्न एकद्वार प्रणाली लागू गर्न पनि क्लबहरूले माग गरेका छन्।
यस्तै, प्रतियोगिता नियमावलीअनुसार लिगमा १४ क्लबको सहभागिता सुनिश्चित गर्नुपर्ने, प्राविधिक र आर्थिक पक्षमा स्पष्ट सहमति गरेर मात्र लिगको मिति निर्धारण गर्नुपर्ने लगायतका माग पनि अघि सारिएका छन्। क्लबहरूसँग पर्याप्त छलफल नगरी लिगको मिति तोकिएको भन्दै क्लबहरूले उक्त निर्णय सच्याएर सबै पक्षको सहमतिमा नयाँ कार्यतालिका सार्वजनिक गर्न एन्फासँग आग्रह गरेका छन्। माग पूरा गराउन दबाब दिन सोमबारदेखि क्लबहरूले शान्तिपूर्ण धर्ना कार्यक्रम सुरु गरेका छन्।