काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) शुक्रबार बाँडफाँट गरिएको छ। निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट प्रक्रिया सम्पन्न गरेको जनाएको छ।
कम्पनीले फागुन १२ गतेदेखि १५ गतेसम्म अंकित मूल्य १०० रुपैयाँका दरले ४५ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। उक्त आईपीओमा कुल २४ लाख १३ हजार ५१७ जनाबाट आवेदन परेको बिक्री प्रबन्धकले जानकारी दिएको छ।
तीमध्ये २३ लाख ७६ हजार ७०५ आवेदकको आवेदन मात्रै स्वीकृत भएको थियो भने बाँकी आवेदन विभिन्न कारणले रद्द गरिएको थियो। मागभन्दा धेरै आवेदन परेपछि आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो। सो प्रक्रियाअनुसार ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी १९ लाख २६ हजार ७०५ आवेदकले सेयर पाउन सकेनन्।
‘तानसेन’ ब्रान्डअन्तर्गत ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको पाल्पा सिमेन्टले भारतमा समेत सिमेन्ट निर्यात गर्दै आएको छ। नवलपरासीको सुनवलमा रहेको कम्पनीको उद्योगबाट दैनिक करिब १,८०० टन क्लिंकर र २,२०० टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको बताइएको छ।
कम्पनीको वित्तीय प्रदर्शन मध्यम स्तरको देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ९ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसअघि आर्थिक वर्ष २०८०/८१ मा ६ करोड ९८ लाख रुपैयाँ र २०७९/८० मा ३ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। पछिल्लो आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी ३.२४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ (पुनर्मूल्यांकन कोषबाहेक) ११९ रुपैयाँ र पुनर्मूल्यांकनसहित १३५ रुपैयाँ पुगेको छ।