खाना पकाउने एलपी ग्यासको आपूर्ति असहज बनेपछि सर्वसाधारणले फेरि सास्ती भोग्नुपरेको छ। ग्यास डिपो र उद्योगहरू बाहिर एक सिलिण्डर ग्यास पाउनका लागि उपभोक्ताहरू बिहानैदेखि लाइनमा बस्न बाध्य भएका छन्। बढ्दो भीड र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि नेपाल आयल निगमले शुक्रबारदेखि बजारमा आधा सिलिण्डरको दरमा ग्यास पठाउने निर्णय गरेको छ।

बिहीबार बसेको निगमको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि प्रतिसिलिण्डर ७.१ किलो एलपी ग्यास मात्र बिक्री गर्ने निर्णय गरेको हो। निगमका अनुसार उक्त परिमाणको ग्यासको मूल्य ९ सय ५५ रुपैयाँ तोकिएको छ। बजारमा सम्भावित अभावलाई व्यवस्थापन गर्न यस्तो व्यवस्था गरिएको निगमले जनाएको छ।

यसबीच काठमाडौंको बालाजु औद्योगिक क्षेत्रलगायत विभिन्न ग्यास डिपोहरूमा बिहीबारदेखि नै खाली सिलिण्डरको लामो लाइन देखिन थालेको छ। विशेषगरी ‘नेपाल ग्यास’का रातो सिलिण्डरहरू सडकपेटीमा लहरै राखिएको दृश्य सामान्यजस्तै बनेको छ। आफ्नो पालो कुर्न घन्टौँ उभिनुपर्दा उपभोक्ताको अनुहारमा थकान र निराशा स्पष्ट देखिन्छ।

लाइनमा युवा, वृद्धदेखि महिलासम्मको उल्लेख्य उपस्थिति देखिन्छ। कोही मोटरसाइकलमा सिलिण्डर बाँधेर आएका छन् भने कोही काँधमै गह्रौँ सिलिण्डर बोकेर डिपोसम्म पुग्न बाध्य छन्। भीडभाडमा सिलिण्डर हराउने वा साटिने डरले कतिपयले रेगुलेटर लाग्ने भागमा सेतो कपडा वा बोरा बाँधेर चिनो लगाउने गरेका छन्। एक सिलिण्डर ग्यास पाउन दैनिक कामधन्दा, कार्यालय वा व्यवसाय छोडेर दिनभर सडकमा बस्नुपर्ने अवस्थाले नागरिकको दैनिकी कष्टकर बनेको छ।

नेपाल आयल निगमले भने बजारमा वास्तविक अभाव नभएको दाबी गर्दै आएको छ। तर पछिल्ला दुई–तीन महिनादेखि सर्वसाधारणले ग्यास पाउन संघर्ष गरिरहेको गुनासो गरेका छन्। निगमका अनुसार काठमाडौं उपत्यकामा माग असामान्य रूपमा बढ्नु र आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्ति बढ्नुका कारण आपूर्ति व्यवस्थापनमा दबाब परेको हो।

यसैबीच भारतमा पनि एलपी ग्यास आपूर्तिमा दबाब बढेको खबर सार्वजनिक भएपछि नेपालमा समेत उपभोक्ताहरूमा मनोवैज्ञानिक त्रास देखिएको छ। भारतीय सञ्चार माध्यमहरूले घरेलु प्रयोगका एलपीजी सिलिण्डर रिफिल बुकिङ गर्न पाइने न्यूनतम अवधि २१ दिनबाट बढाएर २५ दिन पुर्‍याइएको उल्लेख गरेका छन्।

नेपालले आवश्यक पेट्रोलियम पदार्थ भारतबाट आयात गर्ने भएकाले त्यहाँको आपूर्ति अवस्थाले यहाँ प्रत्यक्ष प्रभाव पार्ने गर्छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भारत सरकारको स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेसनमार्फत ल्याउँदै आएको छ।

अन्तर्राष्ट्रिय स्तरमा बढ्दो भू–राजनीतिक तनावले पनि ऊर्जा बजारमा असर पारेको छ। अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमा हमला बढाएपछि तेल आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलडमरु क्षेत्रमा अवरोधको आशंका बढेको छ। इरानका तेल प्रशोधन क्षेत्रमा आक्रमण भएको खबर बाहिरिएपछि विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ, जसले पेट्रोल, डिजेल र ग्यासको माग तथा खपत पनि बढाएको छ।

भारतले हाल एलपी ग्यास मुख्य रूपमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कतारबाट आयात गर्छ, जहाँबाट आउने आपूर्ति करिब ९० प्रतिशत रहेको बताइन्छ। पछिल्लो समय भारतले अमेरिकाको गल्फ कोस्ट र नर्वेबाट समेत ग्यास आयात गर्ने पहल अघि बढाएको अन्तर्राष्ट्रिय समाचारहरूले जनाएका छन्।