भक्तपुरमा पहिलो पटक ‘भक्तपुर फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ। स्थानीय युवा फिल्मकर्मीहरूको पहलमा आयोजना हुन लागेको यो महोत्सव आगामी चैत ६ र ७ गते भक्तपुरमा सञ्चालन हुनेछ। महोत्सवले नयाँ तथा स्वतन्त्र फिल्मकर्मीलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी र प्रवीण टक्की लगायतका युवा फिल्मकर्मीहरूको समूहले संयुक्त रूपमा यो महोत्सव आयोजना गर्न लागेको हो। महोत्सवका निर्देशक किरण किलम्बुले भक्तपुरको समृद्ध कला, संस्कृति र साहित्यलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताए।
उनका अनुसार भक्तपुर आफ्नो जन्मथलो भएकाले यहाँको सांस्कृतिक पहिचानलाई सिनेमा मार्फत् प्रवर्द्धन गर्ने सोचका साथ महोत्सव आयोजना गरिएको हो। किलम्बुले नेपाली फिल्म उद्योगका ‘कब्बडी ४’, ‘फूलबारी’, ‘दिमाग खराब’, ‘फेरि रेशम फिलिली’ र ‘डिग्री माइला’ जस्ता चर्चित फिल्ममा पनि काम गरिसकेका छन्।
महोत्सव संयोजक स्मित गिरीका अनुसार स्वतन्त्र (इन्डी) फिल्म निर्माण गरिरहेका फिल्मकर्मीलाई आफ्नो काम प्रदर्शन गर्ने उपयुक्त प्लेटफर्मको अभाव देखिएकोले यो महोत्सव सुरु गरिएको हो। साथै, नेपाली समाजमा ‘सिनेमा लिट्रेसी’ अर्थात् फिल्मप्रतिको ज्ञान र समझ बढाउने लक्ष्य पनि महोत्सवले राखेको छ।
स्मित गिरीसँगै एभरेस्ट एकेडेमीमा फिल्म अध्ययन गरेका सफल वैद्य पनि महोत्सवका सह–संयोजक रहेका छन्। आयोजक टोलीका अनुसार महोत्सवले नयाँ प्रतिभालाई प्रोत्साहन गर्दै भक्तपुरलाई फिल्म संस्कृतिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।