काठमाडौं — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना अन्ततः सम्पन्न भएको छ। पछिल्ला दुई निर्वाचन क्षेत्र गोरखा–१ र इलाम–१ को मतगणना टुंगिएसँगै समानुपातिकतर्फका सबै मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार मतगणना सकिएपछि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा अन्तिम विवरण पठाउने प्रक्रिया भने जारी रहेको छ।
मतगणना पूरा भएसँगै अब राजनीतिक दलहरूले समानुपातिक प्रणालीबाट प्राप्त गर्ने सिट संख्या निर्धारण गर्ने काम पनि सुरु भएको आयोगले जनाएको छ। आयोगका अनुसार आवश्यक प्रक्रिया केही दिनभित्र पूरा हुने अपेक्षा गरिएको छ।
यसैबीच बुधबार बिहान ११ बजेसम्म समानुपातिकतर्फ कुल १ करोड ७ लाख ३९ हजार १ सय १५ मत गणना भएको जानकारी निर्वाचन आयोगले दिएको छ।
गणना भएको मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार २ सय ३५ मतसहित अग्रस्थानमा रहेको छ। नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५ सय ८३ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) ले १४ लाख ४८ हजार ८ सय ५४ मत ल्याएको छ। त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले ८ लाख ५ हजार ७ सय ७३ मत प्राप्त गरेको छ।
यसैगरी श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६ सय ४९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४ सय ७२ मत पाएको छ। अन्य दलहरू भने थ्रेसहोल्ड कटाउने स्थितिमा देखिएका छैनन्।